Monday, September 28, 2015

अन्तर्राष्ट्रिय उडानले आजदेखि तेल नपाउने

अन्तर्राष्ट्रिय उडानले आजदेखि तेल नपाउने

विदेशी विमान कम्पनीले भारतको दिल्ली, लखनउ वा बंगलादेशको ढाकामा तेल भरेर आउनुपर्नेयसले विमान कम्पनीको खर्च ४० प्रतिशतसम्म बढ्ने
आश्विन १२, २०७२- नेपाललाई बाँकी विश्वसँग दैनिक जोड्ने अन्तर्राष्ट्रिय उडानले मंगलबार मध्याह्नदेखि हवाई इन्धन नपाउने भएका छन् । १४ वटा मुलुकका २६ विमान कम्पनीले नेपाल उडान भर्छन् । यी वायु सेवा कम्पनीलाई आयल निगमको एयरपोर्ट डिपोले मंगलबार मध्याह्नदेखि लागू हुने गरी इन्धन नेपालबाहिरबाटै भरेर आउन भनेको छ ।
‘अन्तर्राष्ट्रिय उडानले आज दिउँसोदेखि हवाई इन्धन नपाउने भएका छन्,’ अन्तर्राष्ट्रिय उडान भर्ने अपरेटरहरूको संस्था एयरलायन्स अपरेसन कमिटी–नेपाल (एओसी–एन) का अध्यक्ष भरत श्रेष्ठले भने । उनका अनुसार नेपालमा इन्धन अभाव भएको कारण देखाउँदै निगमले अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई बाहिरबाटै तेल भरेर आउन अनुरोध गरेको हो ।
काठमाडौंमा तेल आपूर्ति सहज नभएसम्म अन्तर्राष्ट्रिय उडानहरूले भारतको लखनउ, दिल्ली, बंगलादेशबाट तेल भर्ने छन् । यसलाई उड्डयनको भाषामा टेक्निकल ल्यान्डिङ भनिन्छ ।
नेपाल वायु सेवा निगमका एक जना वरिष्ठ पाइलटका अनुसार अन्तर्राष्ट्रिय विमानहरूले टेक्निकल ल्यान्डिङ गर्नुपरेको यो दोस्रो घटना हो । ‘२०४५ सालमा भारतले नाकाबन्दी लगाउँदा पनि अन्तर्राष्ट्रिय उडानहरूले नेपालमा इन्धन अभाव झेल्नुपरेको थियो,’ ती पाइलटले भने । उनका अनुसार त्यसबेला निगमको बोइङ ७३७ जहाजले ढाकाबाट इन्धन ल्याएर मुलुकभित्र आपूर्ति गरेको थियो ।
नेपालमा उडान भरिरहेका अन्तर्राष्ट्रिय विमान कम्पनीहरूमध्ये मस्कट–काठमाडौं सिधा उडान भर्ने ओमन एयर, फ्लाई दुबईलगायत खाडी मुलुकका अरू २/३ वटा विमानहरूले लखनउ विमानस्थलमा अवतरण गरेर इन्धन मात्रै भर्ने छन्,’ एओसी अध्यक्ष श्रेष्ठले भने ।

त्यसैगरी काठमाडौंलाई युरोपसँग जोड्ने टर्किस एयरलायन्स, इत्तिहादलगायत केही विमान कम्पनीहरूले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल दिल्लीमा अवतरण गरी तेल भर्ने तालिका मिलाएको एओसी नेपाललाई जानकारी दिएका छन् । त्यस्तै कोरियन, चिनियाँलगायत पूर्वी रुटमा उडान भर्ने जहाजहरूले ढाका बैंककमा तेल हाल्ने तालिका मिलाएका छन् ।

नेपाल वायुसेवा निगमले एयरबसको दाँजोमा इन्धन क्षमता बढी भएको बोइङलाई दिल्ली, बैंग्लोर र मुम्बई उडाउने जनाएको श्रेष्ठले बताए । निगमका बोइङको इन्धन क्षमता ३४ टनसम्म हो भने एयरबसको करिब १९ टन हो । ‘संकट व्यवस्थापन गर्नुपर्ने भएकाले लोडअनुसार बाहिरी मुलुकबाट तेल भरेर ल्याउने सल्लाह भएको छ,’ निगमका प्रवक्ता रामहरि शर्माले भने । त्यसैगरी कतार एयरलायन्सले तेल अभावको समस्या समाधान गर्न वाइड बडी ( ठूलो आकारका विमान) ल्याउने (उडाउने) निर्णय गरेको छ ।
इन्धनका लागि हुने टेक्निकल ल्यान्डिङले अन्तर्राष्ट्रिय उडानहरूको खर्च बढाउने छ । ‘यात्रु/कार्गो घटाउनुपर्नेछ यो भनेको आर्थिक रूपमा घाटा बेहोर्नु हो,’ अध्यक्ष श्रेष्ठले भने, ‘तेल भर्न जहाज अवतरण गर्दा ल्यान्डिङ/पार्किङको शुल्क पनि थपिने भयो ।’ विमान कम्पनीहरूले हालको खर्चमा ३० देखि ४० प्रतिशत थप खर्च बढ्ने भनेका छन् । हाल नेपालमा दैनिक आउने र जाने गरी ५० देखि ६० वटा अन्तर्राष्ट्रिय उडान भइरहेका छन् ।
यसैबीच आन्तरिक उडानका लागि भने एक महिनासम्मलाई इन्धनको व्यवस्था मिलाउने निगमले बताएको छ । ‘आन्तरिक उडान भर्ने विमान र हेलिकप्टर कम्पनीहरूसँग आइतबार बैठक भएको थियो,’ तारा एयरका म्यानेजर भीमराज राईले भने, ‘निगमले हामीलाई महिना दिनसम्मका लागि पुग्ने इन्धन रहेको जानकारी गराएको छ ।’

No comments:

Post a Comment

Comments system

Disqus Shortname