Saturday, October 3, 2015

नाकाबन्दीको पीडा भारतीयलाई पनि




आश्विन १७, २०७२- अघोषित ‘नाकाबन्दी’ ले नेपालको अर्थतन्त्रमा मात्र प्रभाव परेन, सीमावर्ती भारतीय बजार पनि सुनसान रहे। मुख्य चाडपर्वका बेला नेपाली ग्राहक गएर किनिदिनुपर्ने उनीहरूका सरसामान बिकेनन्। खासगरी नेपाली ग्राहककै भरमा चलेका सीमावर्ती बजारका व्यापार चौपट भएपछि उनीहरूसमेत आक्रोशित भएका छन्।
.....................................
दसैंका बेला भ्याई–नभ्याई हुने जोगवनीका रेडिमेड कपडा व्यापारी ओमप्रकाश सिंह टाउका हात राखेर बसिरहेका थिए। ‘दसैं नजिकिएका बेला अहिले नेपाली उपभोक्ताले भरिभराउ देखिनुपर्दथ्यो,’ ओम रेडिमेडका सञ्चालक सिंहले भने, ‘तर सुनसान छ, झिँगा मारेर बस्नुपर्ने अवस्था छ।’
नेपाली उपभोक्ताकै कारण दैनिक करोडौंको व्यापार हुने जोगबनी डेढ महिनायता सुनसान छ। ‘पसल त खुल्छ तर जाममा परेका ट्रक ट्यांकर हेर्दै दिन बित्छ,’ जोगवनीस्थित नेपाल शृंगार पसलका सञ्चारक अशोक भगतले भने। मोरङ, सुनसरी, धनकुटा, सप्तरी लगायत स्थानबाट सर्वसाधारण किनमेलका लागि यहाँ आउने गरेका छन्। तर, व्यापार ८० प्रतिशतले घटेको सिंहले बताए। ‘दसैंका बेला नाकाबन्दी र नेपालको बन्दले व्यापार चौपट भयो,’ उनले भने, ‘यसरी त कोठा भाडा र स्टाफ खर्च पुर्‍याउनै गाह्रो छ।’
अघोषित नाकाबन्दीकै कारण व्यापार ठप्प भएपछि नेपालगन्जको सीमावर्ती रुपैडिहा बजारका व्यवसायी छटपटिएका छन्। नाकाबन्दीपछि दुई देशीय सम्बन्ध चिसिएकै बेला सीमावर्ती बजारका व्यवसायीबीचको सम्बन्ध भने हार्दिक छ। उनीहरू स्थानीयस्तरबाट समाधान खोज्न संयुक्त पहलमा जुटेका छन्।
पश्चिम तराईको प्रमुख व्यापारिक नाका मानिन्छ, नेपालगन्ज–रुपैडिहा। बर्दियाको राजापुर र दाङको कोइलाबास नाकामा छिटपुट आउजाउ हुने गरे पनि व्यापारिक कारोबार हुँदैन। त्यसैले नेपालगन्ज नाका प्रभावित भएपछि सीमावर्ती व्यवसायीहरू निकासका लागि सक्रिय भएका हुन्। शनिबार नेपालगन्ज र रुपैडिहाका व्यवसायीहरूले भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ७ आंै बटालियनका उपसेनानी जय प्रकाश र कस्टम प्रमुख आरपी सिंहलाई भेटेर नाका सहज बनाउन आग्रह गरे। भारतीय अधिकारीहरूले पनि नाकामा कुनै अवरोध नगर्ने प्रतिबद्वता जनाए।
‘सरकारस्तरमा जेसुकै होस् यहाँको सम्बन्ध बिग्रन दिनु भएन। नाका सहज भइदिए स्थानीयस्तरमा धेरै समस्या समाधान हुनेछन्,’ शनिबार रुपैडिहाका व्यवसायीसहित भारतीय सुरक्षा अधिकारीसँग भेट गरेका नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले भने, ‘नाका अवरोधले दुई मुलुकका नागरिकबीच नकारात्मक असर पार्न सक्छ।’
रुपैडिहा बजार नेपाली उपभोक्ताहरूको भरमा टिकेको छ। दैनिक करिब एक करोडको कारोबार नेपालीहरूबाटै हुने गरेको छ। दैनिक उपभोग्यका सामान, तरकारीलगायतका वस्तुहरू किन्न सयौं नेपालीहरू पारि जान्छन्। तर, नाकामा उत्पन्न असहजताका कारण करिब ७५ प्रतिशत कारोबार घटेको त्यहाँका व्यवसायीहरूको अनुमान छ। ‘हामी व्यवसायीहरूको पीडा उस्तै हो। नाकामा अवरोध भएपछि कारोबार घट्नु स्वाभाविक हो। त्यसैले दुई मुलुकका व्यवसायीहरू एक भएर समस्याको समाधान खोजिरहेका छौं,’ रुपैडिहा व्यापार मण्डलका महासचिव इमाजराज एवस्थीले भने, ‘सरकार–सरकारको झगडामा दुवै पक्षका व्यापारी र नागरिकबीच कटुता उत्पन्न हुन दिनु भएन।’
नेपालगन्जमा दैनिक ५ करोडको कारोबार हुँदै आएकोमा उत्पन्न असहज परिस्थितिका कारण ५० प्रतिशतले कमी आएको संघले जनाएको छ। ‘सबै कारोबार ठप्प छ। कच्चा पदार्थ नपाएर उद्योगहरू बन्द हुने अवस्था आइसक्यो,’ श्रेष्ठले भने। स्थानीयस्तरबाट समस्याको निकास खोज्न दुई मुलुकका व्यवसायीहरूले नेपाल–भारत सद्भाव मञ्च गठन गरेका छन्। उक्त मञ्चमार्फत शान्ति र सद्भावको प्रयास पनि भइरहेको छ। मञ्चको संयोजकत्वको जिम्मा संघका अध्यक्ष श्रेष्ठलाई दिइएको छ। सदस्यहरूमा रुपैडिहा व्यापार मण्डलका अध्यक्ष विजयकुमार मित्तलले र सञ्चाकर्मीहरूसमेत छन्।
महोत्तरीसँग जोडिएका मधवापुर, भिट्ठामोड, सुरसन्ड र कन्हमा गरी प्रमुख ४ बजार छन्। तिनका प्रमुख ग्राहक नेपाली हुन्। ती अचेल सुनसान छन्। मधवापुर च्याम्बर अफ कर्मसका सल्लाहकार समिति अध्यक्ष चेतनकुमारका अनुसार यो मधेस आन्दोलनको प्रभाव हो। भन्छन्, ‘छिमेकमा आगो लाग्यो भने त्यसको रापले आफूलाई पनि पोल्छ।’ उनका अनुसार नेपाली ग्राहकलाई ध्यानमा राखी भारतीय व्यापारीले दसैं लक्षित सामानको अर्डर गर्दै आएका छन्। ‘अब ती सामानको खरिदकर्ता को?’ उनले प्रश्न गरे। भिट्ठामोडका व्यापारीे श्रवण मुरारकाले व्यापार घटेर २५ प्रतिशतमा झरेको सुनाए। नेपाली ग्राहकहरूको ओइरो लाग्ने धनुषाका सीमावर्ती भारतीय बजारहरू पनि सुनसान छन्। दसैं तिहारको मौकामा उल्लेख्य व्यवसाय हुने जयनगर, बासोपटी, उमगांव, हरिने, हरलाखीलगायत भारतीय बजारका व्यवसायीहरू डेढ महिनादेखि नेपाली ग्राहक नआएपछि निराश छन् ।
जयनगरको चर्चित अग्रवाल बस्त्रालयका सञ्चालकले व्यवसाय चौपट्टै भएको दु:खेसो गरे। भारत सरकारको सहयोगमा जयनगर–जनकपुर–बिजुलपुरा–बर्दिबास निर्माण हुँदै गरेको ‘ब्रोडगेज रेल’का कारण दुई वर्षदेखि रेलसेवा बन्द छ। आम हडतालका कारण वैकल्पिक यातायातका साधनहरूसमेत नभएकाले थप समस्या छ। भारतका पेट्रोल पम्पहरूमा भने नेपाली मोटरसाइकलको लर्को लाग्ने गरेको छ। तर, नेपालमा १ सय ४ रुपैयाँ लिटरमा पाउने पेट्रोललाई त्यहाँ झज्डै १ सय ११ रुपैयाँ पर्छ।
झापा सीमावर्ती पानीट्यांकी, नक्सलबारी, बागडोग्रा, सिलिगुडीलगायत भारतीय बजार सुनसान छन्। पानीट्यांकीस्थित फलफूल पसलमा ग्राहकको पर्खाइमा बसेका भारतीय व्यापारी पाशुपत साहले सुनाए, ‘व्यापार पुरै घटेको छ।’ दैनिक १० हजारसम्मको फलफूल बेच्ने उनको व्यापार अहिले हुँदैन भन्दा पनि हुन्छ।
अटो मोबाइल वर्कसपका सञ्चालक बप्पी सिंहले भने, ‘पहिला दिनहुँ १० देखि १५ वटा मोटरसाइकल सर्भिसिङ हुन्थ्यो, अहिले छैन।’ स्थानीय व्यवसायीहरूका अनुसार सीमा क्षेत्रका नेपाली सर्वसाधारण भारतीय बजारको भरमा थिए। भारतीय व्यापारी नेपाली उपभोक्ताको आसमा। नाकाबन्दीले दुवै देशका जनताले बराबरी सास्ती पाएका छन्। भारतीय व्यवसायीहरूले पनि तत्काल नाकाबन्दी हटाउन अनुरोध गरे।
‘व्यापार व्यवसाय डामाडोल भएको छ,’ पानीट्यांकीका कात्तिक राजवंशीले सुनाए, ‘सधंै व्यस्त र भीड देखिने पानीट्यांकी बजार पनि सुस्ताएको छ।’
रूपन्देहीको सीमावर्ती सुनौलीमा मोबाइल पसल सञ्चालन गर्दै आएका सुभास जैसवालले भने, ‘दुवै देशको व्यापार चौपट भयो। उनी उद्योग व्यापार मण्डल नौतनवाका तहसिल अध्यक्षसमेत हुन्। उनले शनिबारदेखि केही चहलपहल बढेर आस पलाएको बताए। बिहानदेखि साँझसम्म भीड लाग्ने यो बजारका ९५ प्रतिशतभन्दा धेरै ग्राहक नेपाली हुन्। यहाँ चिनी, मसला, खानेतेल, कपडा, मिसेनरी सामान, दाल, शृंगारका सामान, कापी, औषधि, मोटरपार्ट्स, फास्टफुड, भाँडावर्तन, बिस्कुट, चिसो पेय पदार्थलगायत सामान खरिदका लागि स्याङजा, पाल्पा, गुल्मी, अर्घाखाँची, रूपन्देही, नवलपरासी, चितवन, तनहँु, लमजुङ, कपिलवस्तुलगायत जिल्लाबाट दिनहुँ हजारौंको संख्यामा नेपाली उपभोक्ता पुग्ने गर्छन्।
यता नेपालतर्फ विशेषगरी चाइनिजलगायत विदेशी सामान खरिद गर्न सुनौली, नौतनवा र गोरखपुरसम्मका भारतीय उपभोक्ता आउने गर्छन्। दैनिक डेढ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने गरेको सुनौलीमा आन्दोलन सुरु भएपछि ७० प्रतिशत व्यापारमा ह्रास आएको जैसवालले बताए। भारतले नाकाबन्दी खोल्ने भन्नासाथ शनिबारैबाट केही चहलपहल सुरु भएको सुनौलीस्थित बाटा कम्पनी डिलर तथा सञ्चारकर्मी आलोक जोशीले बताए।
आन्दोलनले दुवैतर्फको व्यापारमा मन्दी आउन थालेपछि र आपसी सम्बन्धमा समेत असर पर्न थालेपछि दुवैतर्फका सामाजिक संघसंस्था र उद्योग व्यापार संघ मिलेर सुधार ल्याउनमा पहल गरिएको सिद्धार्थनगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा नेपाल भारत मैत्री समाज रूपन्देहीका अध्यक्ष डा.शान्तकुमार शर्माले बताए।
कैलाली र कञ्चनपुरका सीमावर्ती भारतीय बजारका व्यापारीले आफ्नै सरकारको कदमलाई लिएर आक्रोश र असन्तुष्टि व्यक्त गरेका छन्। नेपालीकै भरमा रहेका बनवास, टनकपुर खटिमा तथा कैलालीको सीमापारिका गौरीफन्टा र पलियासम्मका बजारको व्यापार व्यवसाय प्रभावित भएको छ।
वनबासाका भारतीय व्यवसायी प्रकाश थपलियालले काठमाडौंमा रहेका आफन्तलाई केही मालसामान पठाउनुपर्ने थियो। तर उनले एक सातादेखि उक्त सामान पठाउन सकेका छैनन्। भारतीय पक्षले गरेको अघोषित नाकाबन्दीपछि नेपालमा भइरहेको भारतविरोधी गतिविधि र भारतीय नम्बरका सवारी साधन चल्न नदिने धम्कीका कारण ती सामान पठाउन उनी महेन्द्रनगरसम्म आउन सकेनन्। ‘दुई देशबीचको मैत्रीभाव खस्कँदै गएको छ,’ वनबासा व्यापार मण्डलका संस्थापक कोषाध्यक्ष थपलियाले भने, ‘यसलाई समयमै सुल्झाउनुपथ्र्यो।’
उता गौरीफन्टा बजारको ९० प्रतिशत कारोबार नेपाली ग्राहकहरूसँग निर्भर छ। वनगाउँ, चन्दन चौकी र पलिया बजारसँग नेपालीको दैनिक दस करोडभन्दा बढीको व्यापार हुने गरेको छ। गौरीफन्टाका व्यापारी किसन गुप्ताले भारतले गरेको नाकाबन्दीले व्यापारमा ९० प्रतिशत गिरावट आएको बताए। उनले आफूहरूले भारत सरकारसँग नेपालको नाकाबन्दीलाई खोल्न आग्रह गरेको बताए। ‘हामी काठमाडौं र दिल्लीको विवाद के हो, जान्दैनौं,’ बनबासा व्यापार मण्डलका अध्यक्ष सञ्जय अग्रवालले भने, ‘वनबासा र महेन्द्रनगरको सम्बन्ध बिग्रन दिनुहुँदैन।’ बर्सेनि दसैं तिहार नजिकिँदै गर्दा वनबासामा किनमेल गर्नेहरूको घुइँचो लाग्ने भए पनि यसपटक त्यस्तो नरहेको उनले बताए। ‘यहाँको व्यापार ५ प्रतिशतमा झरेको छ’ उनले भने।
भारत सरकारले नाकाबन्दी फिर्ताको निर्णय लिएको जानकारी आए पनि यथार्थ के हो, सीमा बजारमा अझै अन्योल छ। ‘फिर्ता लिएको भए राम्रो भयो,’ गौरीफन्टाका व्यापारी किसन गुप्ताले शनिबार भने, ‘नत्र अविलम्ब फिर्ता लिनुपर्छ।’ उनले नाकाबन्दी हटाउन सीमाबर्ती बजारका व्यापारीहरूले आन्दोलनको चेतावनी दिएको सुनाए। उनीहरूले जिल्लामार्फत भारतको केन्द्रीय सरकारलाई अघोषित नाकाबन्दी तत्काल हटाउन ज्ञापन पत्रसमेत दिएका थिए। भारतका पलिया र वनगाउँ बजारका व्यापार मण्डलले समेत नेपालसँगको नाका खोल्न आग्रह गरेको बताए। गौरीफन्टाका व्यापारी रमेश गुप्ताले नेपाल सरकारले भारतबाट आपूर्ति गरिने वस्तु र सवारी साधनको सुरक्षा दिनु पर्ने बताए । सीमा क्षेत्रका पत्रकारहरूसमेत स्थानीय स्तरमा कसरी सम्बन्ध सुधार्न सकिन्छ भन्ने पहलमा लागेका छन्। ‘जसरी भए पनि दुई देशबीच सदीयौंदेखि चलिआएको सम्बन्ध बिग्रन दिनुहुँदैन’ महेन्द्रनगरका भेटिएका भारतिय पत्रिका दैनिक जागरणका पत्रकार आशुतोषले भने, ‘स्थानीय स्तरमा पनि यसका लागि पहल हुनु आवश्यक छ।’
झन्डै २ हजारभन्दा बढी साना ठूला पसल भएको वीरगन्जको छिमेकी रक्सौल बजारमा अहिले मन्दी छाएको छ। डेढ महिनादेखि छाएको मन्दीमा विगत १० दिनदेखिको नाकाबन्दीले कारोबार नै ठप्प पारेको त्यहाँका व्यवसायीहरू गुनासो गर्छन्। बन्दका बेला सुरक्षाकर्मीको स्कर्टिङमा दिनहुँ सामान ढुवानी हुँदा रक्सौलको व्यापारलाई खासै असर परेको थिएन। तर गत असोज ७ देखिको नाकाबन्दीले अधिकांश पसलेको बोहोनीसमेत नभएको पाइएको छ।
‘बढीमा २/३ दिन नाका अवरोध गर्दा समस्या समाधान होला भन्ने सोचेका थियौं,’ कपडा व्यवसायी राहुल अग्रवालले भने। अधिकांश व्यापारी नाकाबन्दीको विरोधमा भएको उनले सुनाए। दसैंंको बेला सीमावर्ती रक्सौलको व्यापार नेपालीकै कारण हवात्तै बढ्थ्यो। छपकैयाका अफरोज अन्सारीले भने, ‘४८ दिनदेखिको मधेस बन्दले उनीहरूको व्यापार पनि चौपट भएको छ, नाकाबन्दी पछि अधिकांश पसलको बोहनी समेत भएको छैन।’ उनीहरू पनि आन्दोलनको तत्काल राजनीतिक समाधान चाहन्छन्, ताकि व्यापार सुचारु होस्।
भारतको बैरगनियाका व्यवसायीको उस्तै गुनासो छ। नेपाली ग्राहकले दैनिक १० लाख भारतीय रकमको किनमेल गर्थे,’ त्यहाँका सञ्चारकर्मी राजकपुरले भने, ‘अहिले सुनसान छ।’ कृष्णनरको सीमावर्ती भारतीय बढनी बजारको व्यापार ८५ प्रतिशत घटेको बढनी व्यापार मण्डलका पूर्वअध्यक्ष हरभजन सिंहले बताए।

No comments:

Post a Comment

Comments system

Disqus Shortname