आश्विन १४, २०७२- संसद्को नयाँ नियमावली निर्माणपछि मात्रै राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको प्रक्रिया सुरु हुने भएको छ । प्रधानमन्त्री चयनको प्रक्रिया भने नयाँ नियमावलीबिनै अघि बढ्ने संसद् सचिवालय स्रोतले जनाएको छ ।
संविधानमा राष्ट्रपतिले उपराष्ट्रपतिसमक्ष र उपराष्ट्रपतिले राष्ट्रपतिसमक्ष राजीनामा दिने प्रावधान भए पनि दुवैको चयनसम्बन्धी संक्रमणकालीन व्यवस्थामा यससम्बन्धी थप व्यवस्था छैन । अन्य निकायको सिफारिसमा गर्ने भनी संविधानले स्पष्ट व्यवस्था गरेकोमा बाहेक राष्ट्रपतिले गर्ने सबै काम मन्त्रिपरिषद्को सिफारिस र सम्मतिमा हुने व्यवस्था छ ।
‘संविधानको व्यवस्था कार्यान्वयनका लागि कहीँ कतै व्यवधान नहुने गरी प्रधानमन्त्रीले राजीनामा गर्नुहुन्छ,’ कानुन मन्त्री नरहरि आचार्यले भने, ‘अन्य पदको निर्वाचनका लागि पनि संसद्ले आवश्यक कार्यविधि बनाउँछ ।’ नयाँ राष्ट्रपति चयनको प्रक्रिया सुरु गर्न राष्ट्रपति रामवरण यादवले राजीनामाको घोषणा गर्ने कि संसद्ले सोझै निर्वाचनको प्रक्रिया अघि बढाउने भन्नेमा कानुन मन्त्री आचार्यले ठोस जवाफ दिएनन् । स्रोतका अनुसार संविधानमा नै नयाँ सरकार र राष्ट्राध्यक्ष चयनको समयसीमा उल्लेख भएकाले राष्ट्रपति/प्रधानमन्त्रीले राजीनामा गरिरहनु पर्छ/पर्दैन भन्नेमा राजनीतिक तहमा अनौपचारिक परामर्श भएको थियो ।
No comments:
Post a Comment