Wednesday, November 25, 2015

नाकामा महँगियो भारु


           मंसिर १०, २०७२- भारतले गरेको नाकाबन्दीका कारण आयात/निर्यात व्यापारमा परेको असरले सीमावर्ती क्षेत्रमा भारतीय रुपैयाँ महँगिएको छ। झापामा बुधबार प्रतिसय रुपैयाँ भारु साट्न सर्वसाधारणले ९ देखि १० रुपैयाँ अतिरिक्त शुल्क (बट्टा) तिर्नुपर्‍यो।
जसअनुसार एक सय भारु साट्न १ सय ७० सम्म तिर्नुपरेको छ। जबकि साढे दुई दशकदेखि सय भारु बराबर १ सय ६० हुने गरी स्थिर विनिमयदर कायम गरिएको छ। सटही काउन्टरले राष्ट्र बैंकले निर्धारण गरेको प्रति १ हजारमा ४० पैसा मात्रै वट्टा लिन पाउने प्रावधान छ। झापामा हाल भारुकै कारोबारकै लागि भनेर ८० बढी सटही काउन्टर सञ्चालित छन्। आधाभन्दा बढी काँकडभिट्टा नाकामै छन्। 
‘भारुको अभावले बट्टा बढेको हो’, भारु/नेरु सटही काउन्टर चलाएर बसेका स्थानीय चन्द्र सिटौलाले भने ,‘बजारमा भारु छँदै छैन।’ उनका अनुसार राष्ट्र बैंकले भारु दिन नसक्ने कारणले व्यापारीसँग महँगोमा किनेर बिक्री गर्नुपरेको छ। 

सामान्यतया नेपालबाट निर्यात भएर जाने वस्तुको बिक्रीबाट वैधानिक रूपमा भारतीय रुपैयाँ भित्रने गरेको व्यवसायी बताउँछन्। त्यसका अलवा भारतबाट काम गरेर फर्कने सेना, मजदुर र जागिरेबाट भारु भित्रने गरेको छ। 

भारुका कारोबारीले नेपालका बैंकहरूमा नेपाली रुपैयाँ जम्मा गरेर भारतीय एटीएमबाट पनि भारु भित्र्याउने गरेका थिए। तर, केही दिनयता भारतीय एटीएमको सिस्टममा आएको गडबडीले भारु निकाल्न समस्या भएको कारोबारीहरूको भनाइ छ। ‘एटीएमको पैसा भित्र्याउन सक्दा पनि भारु अलि सस्तो हुने थियो,’ एक कारोबारी भन्छन्, ‘तर, नेपालमा जम्मा गरेको पैसा भारतमा झिक्न कडाइ गरेकाले समस्या भएको छ।’ 

झापामा दैनिक एक देखि डेढ करोड भारु खपत हुने गरेको राष्ट्र बैंकको भनाइ छ। राष्ट्र बैंकले सर्वसाधारणका लागि भनेर दैनिक ४ लाख भारु वितरण गर्दै आएको छ। बैंकले नागरिकता देखाउँदा प्रतिव्यक्ति २ हजार रुपैयाँसम्म उपलब्ध गराउँछ। ‘बिरामीका हकमा चाहिँ पुर्जा देखाउँदा १० हजारसम्म दिइरहेका छौं।’

सरकारी कार्यालयका कर्मचारी, सेना, प्रहरीलगायतका निकायलाई समेत त्यही ४ लाखबाट रकम उपलब्ध गराउनुपर्ने बाध्यता रहेको नेपाल बैंक लिमिटेड काँकडभिट्टा शाखाका मेनेजर अनिल घिमिरेले बताए। ‘राष्ट्र बैंकले थोरै रकम उपलब्ध गराएको छ,’ घिमिरेले भने, ‘कसलाई दिने कसलाई नदिने जस्तो हुन्छ।’

No comments:

Post a Comment

Comments system

Disqus Shortname