Wednesday, November 25, 2015

सार्वजनिक र अत्यावश्यक सवारीलाई मात्रै इन्धन, निजी र ट्याक्सीलाई बन्द

     भारतले फेरि इन्धन आपूर्तिमा भारी कटौती गरेपछि सरकारले सार्वजनिक सवारी र अत्यावश्यकीय सेवाका साधनलाई मात्र इन्धन उपलब्ध गराउने निर्णय गरेको छ। वाणिज्य मन्त्रालय र आयल निगमको यो निर्णयपछि निजी सवारी साधन र ट्याक्सीले पनि अब इन्धन नपाउने भएका छन्। ‘अहिलेको मौज्दातअनुसार निजीलाई दिन सक्ने अवस्था छैन। अस्पताल र अत्यावश्यक सवारी साधनलाई मात्रै दिने निर्णय भएको छ,’ निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले भने। 
भन्सार विभागको तथ्यांकअनुसार नाकाबन्दीयताको दुई महिनामा कुल मागको करिब १५ प्रतिशत मात्रै इन्धन आयात भएको छ। असोज ८ देखि मंसिर २ गतेसम्ममा २८ सय ३५ ट्यांकर/बुलेट मात्रै इन्धन आयात हुन सकेको छ। नाकाबन्दीअघि दैनिक औसतमा ६६ बुलेट ग्यास र साढे ३ सय ट्यांकर भित्रिने गरेको थियो। तर, नाकाबन्दी यता फाटफुट रूपमा मात्रै छिरेको छ। तिहारलगत्तै इन्धनको मात्रा बढाएको भारतले छट पछि ह्वात्तै घटाएको छ। 

मागअनुसार भित्रिन नसक्दा निगमले मौज्दात इनधनबाट वितरण गर्दै आएको छ। निगमका अनुसार उपत्यकाका लागि १३ सय ५५ किलोलिटर पेट्रोल र २ हजार ४४ किलोलिटर डिजेल मौज्दात छ। जबकि उपत्यकामा दैनिक साढे ३ सय किलोलिटर पेट्रोल र साढे ४ लाख किलोलिटर डिजेलमा माग छ। मागअनुसार मौज्दात अत्यन्त न्यून रहेकाले अत्यावश्यकलाई मात्रै वितरण गर्ने निर्णय भएको हो। यसअघि ट्याक्सीलाई साताको दुई दिन आइतबार र सोमबार (जोर/बिजोर) अनुसार प्रतिट्याक्सी १० लिटर उपलब्ध गराउँदै आएको थियो। निजी सवारी साधनलाई भने दुई पटक मात्रै वितरण गरिएको थियो। निगमले दसैंअघि ६ लाख किलोलिटर पेट्रोल वितरण गरेको थियो। 

बिनाकार्ययोजना वितरण गर्दा करिब ६० प्रतिशत उपभोक्ताले इन्धन पाएका थिएनन्। यस्तै तिहारका लागि करिब १२ लाख किलोलिटर पेट्रोल वितरण गरिएको थियो। लट नम्बरअनुसार वितरण गरिए पनि धेरैले पाउन सकेका थिएनन्। घिमिरेका अनुसार अत्यावश्यकलाई मात्रै दिने निर्णय बुधबारदेखि नै लागू भएको हो। आयल निगमले थानकोट डिपोबाट वितरण गर्दै आएको इन्धनमा पनि रोक लगाएको मन्त्रालयले जनाएको छ। डिपोबाट अस्पताल, होटल, दूध, कर्पोरेट क्षेत्र, सञ्चारमाध्यमलाई पेट्रोलियम पदार्थ दिने गरिएको थियो। थानकोट डिपो प्रमुखको मिलोमतोमा डिपोबाट कालोबजारी हुन थालेपछि डिपोबाट रोक लगाइएको हो। ‘यसअघि अत्यावश्यकलाई निगमले थानकोट डिपोबाट वितरण गथ्र्यो,’ मन्त्रालयका उपसचिव शिव त्रिपाठीले भने, ‘अब यी निकायलाई पम्पबाटै वितरण हुन्छ।’

निगम स्रोतका अनुसार थानकोट डिपोबाट आफ्नो नजिकको पम्प र चिनजानलाई बढी मात्रामा इन्धन वितरण भएपछि रोक लगाइएको हो। अब पेट्रोल पम्प नै तोकेर पेट्रोलियम पदार्थ दिइने छ। अस्पताल, दूध कारखाना, फोहोरमैला व्यवस्थापनका लागि भाँडोमै पेट्रोलियम पदार्थ दिइने छ। ‘प्रेस, अस्पताल, दूधलगायत अन्य अत्यावश्यक सवारी साधनलाई छुटै पम्प तोकी पेट्रोल डिजेल उपलब्ध गराउने निर्णय भएको छ,’ घिमिरेले भने। 

सञ्चारमाध्यम र सञ्चारकर्मीका लागि हरेक शुक्रबार इन्धन दिइने छ। सञ्चारकर्मीका लागि भने सूचना विभागले जारी गरेको परिचयपत्र अनिवार्य हुनुपर्ने प्रवक्ता घिमिरेले बताए। सरकारी/संस्थानका सवारी साधनलाई पेट्रोल सम्बन्धित सरकारी कार्यालय वा संस्थानको कुपनको आधारमा दुईपांग्रे सवारीलाई साताको तीन लिटर र कार, जिप र भ्यानलाई १० लिटर उपलब्ध गराइने निर्णय भएको छ। डिजेलको हकमा सरकारी, संस्थानका कार जिप भ्यानलाई सम्बन्धित सरकारी कार्यालयको कुपनको आधारमा साताको १५ लिटर दिइने छ।

सार्वजनिक यातायातका साधनलाई जोर–बिजोरका आधारमा इन्धन उपलब्ध गराइने छ। घिमिरेका अनुसार माइक्रो बसलाई १५ लिटर, मिनी बसलाई २० लिटर र ठूलो बसलाई ३० लिटर इन्धन उपलब्ध गराइने छ। स्कुल र कजेलका बसलाई पनि इन्धन वितरण गरिने छ। स्कुल बस (रातो प्लेट) लाई सोमबार र बिहीबार वितरण गरिने छ। स्कुल बसलाई ३० लिटर इन्धन दिइने निगमले जनाएको छ।

लामो दूरीका सवारी साधनको हकमा भने आवश्यकताअनुसार डिजेल उपलब्ध गराइने छ। लामो दूरीका माइक्रो र ठूलो बसलाई रुट हेरी चलानीको आधारमा गन्तव्यसम्म पुग्ने गरी इन्धन उपलब्ध गराइने जनाइएको छ। निगमका अनुसार दुग्ध उद्योगलाई भक्तपुरस्थित गुहेश्वरी पेट्रोल पम्पबाट इन्धन दिइने छ। अस्पताल, शव वाहन, कूटनीतिक नियोगका सवारी साधनलाई नक्सालस्थित प्रहरी पम्बबाट वितरण हुन्छ। बाँकी अन्य अत्यावश्यक सवारी साधनलाई लगनखेलस्थित शक्तिदेवी पम्पबाट वितरण गरिने छ। प्रेसलाई भने टेकुमा रहेको नेसनल ट्रेडिङ पम्पबाट वितरण गर्ने योजना रहेको प्रवक्ता घिमिरेले बताए। 


No comments:

Post a Comment

Comments system

Disqus Shortname